काठमाडौँ । देश तीन दिनदेखिको अविरल वर्षाले अस्तव्यस्त भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाबाट प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको उनासिऔँ महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओलीले आज २०८१ असोज १२ गते शनिबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गर्नुभएको हो ।
देशभरि अविरल वर्षाले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले बाढीपहिरोबाट सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले वर्षाबाट भएको असरबारे गृहमन्त्री रमेश लेखकसँग टेलिफोन गरी विवरणसमेत लिनुभएको थियो ।
“बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा जनधनमा क्षति भएका खबर आइरहेका छन् । आज गृहमन्त्री लेखकसँग टेलिफोन गरी यससम्बन्धी सबै जानकारी लिएको छु” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ ।
गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका बिपत् उद्धार टोलीलाई उद्धार तथा राहत सामग्री वितरणमा खटाइएको जानकारी दिनुभएको थियो ।
“केही ठाउँमा उद्धारमा ढिलाइ भएको जानकारी प्राप्त भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिम्मेवारीपूर्वक उद्धार कार्य अघि बढाउनुहोला” प्रधानमन्त्रीले निर्देशन दिँदै लेख्नुभएको छ– “मौसमविद्का अनुसार आज पनि वर्षा हुने छ । उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौँ । भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौँं ।”
ललितपुरमा चार जनाको मृत्यु
अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ । गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार गोदावरी कुण्डनजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ ।

महाङ्काल गाउँपालिका–३ मा तीनओटा घरसहित प्रहरीचौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताउनुभयो ।
‘वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ । चौकीका सवारीसाधनसहित तीनओटा घर पनि बगेका छन् । त्यहाँ पाँच जना थिए । उनीहरू सम्पर्क छैनन्’ उहाँले भन्नुभयो । प्रहरीहरू भने सुरक्षित स्थानतर्फ गएको उहाँले बताउनुभयो ।
बागमती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ ओटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिनुभयो ।
बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रूपमा बन्द छ । बागमती पुलमा क्षति भएको छ । खानीखोला हाइड्रोपावर डुबानमा परेको छ । बागमती ३ नं. वडा कार्यालय जोखिममा छ भने वडा नं. ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।
कुलेखानीको जलाशय सतह घट्न थाल्यो
कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ ।
जलाशयमा क्षमताभन्दा बढी पानी भरिएर ओभरफ्लो भएपछि बाँधको सुरक्षालाई ध्यान दिँदै शनिबार बिहान करिब ५ बजेतिर ड्यामको दुई ढोका खोलिएको थियो ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जलाशयमा पानीको सतह केही घटेको जानकारी दिनुभयो ।
उहाँका अनुसार कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिटर पानी भण्डारण गर्ने क्षमता भए पनि आज बिहान ४ बजेतिर जलाशयमा एक हजार पाँच सय ३१ मिटर पानी भरिएरको थियो । पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका ४ दशमल ५ मिटर खोलिएको थियो ।
ड्यामको दुई ढोका खोलिएपछि अहिलेसम्म जलसतह घटेर एक हजार पाँच सय ३० दशमलव १० मिटरमा आइपुगेको प्रमुख भट्टले बताउनुभयो । वर्षा अझै जारी रहेकोले जलाशयको ढोका खोलिएको र जलविद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । सडकखण्डको गोरखा नगरपालिका–१२ स्थित सातकिलो ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक निरीक्षक बसन्त पौडेलले जानकारी दिनुभयो ।
‘पहिरोले सडक दुईतर्फी रूपमा नै अवरुद्ध भएको हो’ उहाँले भन्नुभयो– ॅअवरुद्ध सडक खुलाउन सडक विभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छाउन सुरु गरिएको छ ।’
तत्कालका लागि दुईतर्फी नै सडक खुलाउन सक्ने अवस्था नरहे पनि एकतर्फी खुलाउने प्रयास गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
पहिरोले सडक अवरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सबै सवारीसाधन बिचमै रोकिएका छन् ।
मेची राजमार्ग अवरुद्ध
अविरल वर्षापछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गअन्तर्गतको बेलिब्रिज बगाएको छ । फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले बेलिब्रिज बगाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले हिलिहाङ गाउँपालिकातर्फको पर्खाल भत्काएपछि बेलिब्रिज बगाएको हो । गत वर्षको असार २ गते आएको बाढीले यहाँ रहेको पुल बगाएपछि यहाँ बेलिब्रिज निर्माण गरिएको थियो । बेलिब्रिज बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ ।
मकवानपुर सिस्नेरीमा ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० ओटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।
बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।
अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।
स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउन सक्ने बाढी, पहिरो, डुबनलगायतको अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था राखिएको उहाँले बताउनुभयो ।
तम्घास–रिडी, रुद्रबेणी–वामीटक्सार र कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाका कारण तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ उर्लेनी, गुल्मीदरबार गाउँपालिका–४ को वीरबास र छत्रकोट गाउँपालिका–३ को लुम्छामा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
त्यसैगरी, रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्डमा पर्ने सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा जलसतह बढेको र चन्द्रकोट गाउँपालिका–८ को मजुवा बजार नजिकै बाघ खोलामा सडकमाथिबाट पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि सडकसमेत अवरुद्ध बनेको हो ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटमा सडकमाथिबाट पहिरो खसेपछि गए रातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पुर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । हाल सडक सञ्चालनका लागि पहल भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
दुई दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बिहान पहिरा जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् । पहिराले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

पृथ्वी राजमार्ग र भित्री सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिनुभयो ।
उहाँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका–६ मौरीओडार, भानु नगरपालिका–१ भन्सारमा सडक अवरुद्ध भएको छ तर सबै ठाउँमा पहिरा पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ ।
त्यस्तै, व्यास नगरपालिका–३ मादी पुलनजिक सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको हो ।
कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ ।
ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खुखोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् ।
मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध
मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
शनिबार बिहान ३ः३० बजे सडकमाथिबाट ढुङ्गाको पर्खाल झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । ढुङ्गाको पर्खाल झरेपछि गाडी चलाउन नसकिने अवस्था रहेको उहाँले बताउनुभयो ।

साना गाडीका लागि एकतर्फी सवारी आवतजावत खुलाउने कोसिस भइरहेको उहाँले बताउनुभयो । ग्याबिन जालीसहितको पहिरो ठुलो भएको र लगातार लेदो सडकमा आएका कारण ठुला गाडीका लागि भने सडक खुलाउन केही समय लाग्ने ढकालले बताउनुभयो ।
सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापा जाने सवारीसाधन र यात्रु प्रभावित बनेका छन् । पहिरोको जोखिम भएपछि प्रशासनले गएराति १० बजेदेखि आज बिहान ३ बजेसम्म सो सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।
त्यसैगरी, इलाम–दानाबारी सडकखण्डअन्तर्गत इलाम नगरपालिका–१० स्थित राजदुवालीमा माईखोलाले सडक कटान गरेपछि सो सडक अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको वालिङ–पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।
गए राति वालिङ नगरपालिकाको बाँयटारी तथा गल्याङ नगरपालिका विभिन्न ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
राजमार्ग अवरुद्ध भएपछि अहिले सडक विभागको डोजरले पहिरो पन्छाउने काम सुरु गरेको छ । बाँयटारीमा पहिरो हटाउने कार्य जारी छ ।
वालिङदेखि राम्दीसम्मको सडकखण्डमा पाँच/छ ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकाले हटाउन केही समय लाग्ने जनाइएको छ ।
पहिरोका कारण बुटवल–पाल्पा हुँदै स्याङ्जा प्रवेश गर्ने सवारीसाधन रोकिएका छन् । वालिङबाट पाल्पा, बुटवलतर्फ जाने सवारी साधन तथा यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् ।
अविरल वर्षाका कारण स्याङ्जा र पर्वतको दक्षिण भेग जोड्ने सडक अवरुद्ध भएको छ । सडकका विभिन्न ठाउँमा पहिरो जाँदा सवारीसाधन रोकिएको छ ।
त्यस्तै, वालिङ–चापाकोट सडकखण्डमा पहिरो जाँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने गल्याङ–चापाकोट सडकखण्ड पनि सञ्चालन हुन सकेको छैन ।