पटना (भारत) । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।
बिहार राज्यको बिपत् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए ।
राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दु चाड जितिया पर्व मनाइरहेका थिए । अधिकारीका अनुसार उनीहरूले अझै अन्य तीन शव निकाल्न प्रयास गरिरहेका छन् ।
जितिया पर्व केही दिनसम्म चल्छ र यो छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ ।
सञ्चारमाध्यमका अनुसार गत वर्ष पनि बिहारमा २४ घन्टाको अवधिमा २२ जनाको डुबेर मृत्यु भएको र तीमध्ये अधिकांशको यही पर्व मनाउँदा मृत्यु भएको थियो । (रासस/एएफपी)