काठमाडौं । कलाकार सुलेमान शंकर ‘इकु’ भनिने सूयमान शंकर पक्राउ परेका छन् । कलाकार भिसामा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा कलाकार इकुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
ललितपुर उपमहानगरपालिका–२४, धपाखेल घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय शंकर भदौ २५ गते पक्राउ परेका प्रहरीले जनाएको छ ।
उनले कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनि विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत सोही अनुरुप आकर्षक हुने प्रलोभनमा पारेको प्रहरीको आरोप छ ।
प्रहरीका अनुसार कलाकार इकुले आफूले संचालन गरिरहेको एसएमएस फिल्म्स प्रालिको नाममा ग्लोबल आईएमई बैंक लि। मा रहेको खातामा प्रतिब्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ।
साथै, खातामा रकम जम्मा गर्ने व्यक्तिहरूले कलाकार भिसामा विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेका थिए ।
रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ तयारी भएपछि खबर गर्छु भनी पीडितहरूलाई लामो समयसम्म झुलाई अन्तमा पीडितहरूको सम्पर्कबाट बाहिर रही ठगी गरेको प्रहरीको आरोप छ।
काठमाडौंको बूढानीलकण्ठ–३, हात्तिगौंडाबाट पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साथै, उल्लेखित व्यक्तिबाट ठगिएको भए यथाशिघ्र ब्युरोमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।