काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घ र सामुदायिक रोडियो प्रसार सङ्घ (अकोर्याब) लाई सबै पत्रकारको साझा सङ्गठनको रूपमा अगाडि बढाउन अपिल गरेको छ ।
अध्यक्ष श्यामलाल पोखरेलको हस्तक्षरमा २०८१ भदौ २५ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले यस्तो अपिल गरेको छ ।
प्रेसवक्तव्यमा जेठ २४ गते महासङ्घका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिए पनि चुनाव सम्पन्न गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
सुर्खेत साधारणसभाको मापदण्डअनुसार सदस्यता नामावली तयार पार्ने र त्यसपछि निर्वाचन कार्यतालिका घोषणा गर्नुपर्ने बताउँदै प्रगतिशील छिटोभन्दा छिटो चुनाव गर्न दबाब दिएको छ ।
त्यस्तै, आगामी भदौ २८ र २९ गते अकोर्याबको चुनाव हुन थालेकोमा त्यसलाई पनि सम्पूर्ण रेडियो पत्रकारिताको सङ्गठन बनाउन अपिल गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“नेपाल पत्रकार महासङ्घ र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्याब) को चुनावको सम्बन्धमा हाम्रो सङ्गठनको धारणा सार्वजनिक गर्न यो प्रेसवक्तव्य जारी गरिएको छ ।
पत्रकार महासङ्घले आगामी २०८१ असोज ५ गते सबै तहको निर्वाचन घोषणा गरे थियो तर महासङ्घका अध्यक्ष विपुल पोखरेलले भदौ २४ गते राजीनामा दिएपछि परिस्थितिमा जटिलता उत्पन्न भएको छ । त्यसका बाबजुद यथाशीघ्र चुनाव सम्पन्न गर्ने जिम्मेवारीबाट कोही पनि पन्छिन मिल्दैन । यस्तो अवस्थामा महासङ्घमा सामेल सम्पूर्ण सम्बद्ध सङ्गठनको सहमतिमा छिटोभन्दा छिटो चुनाव सम्पन्न गर्नुपर्ने छ । त्यसका लागि सम्बद्ध सबै सङ्गठनको साझा अपनत्व हुने गरी काम गरिनुपर्दछ । त्यस क्रममा सर्वप्रथमतः सुर्खेत साधारणसभाको मापदण्डअनुरूप सदस्यता शुद्धीकरण विवादलाई टुङ्गो लगाएर मतदाता नामावली सार्वजनिक गरिनुपर्दछ । मतदाता नामावली सार्वजनिक भएलगत्तै चुनाव कार्यतालिका घोषणा गरेर चुनाव सम्पन्न गरिनुपर्दछ ।
त्यस्तै, यही भदौको २८ र २९ गते सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्याब) को पनि चुनाव हुँदै छ । हाम्रो सङ्गठन अकोर्याबको पनि सम्बद्ध सङ्गठन हो । सो सङ्गठनलाई पनि सम्पूर्ण रेडियो पत्रकारिताको सङ्गठन बनाउनुपर्ने आवश्यकतामा हाम्रो सङ्गठन जोड दिन्छ । त्यसैअनुसार अकोर्याबमा पनि सहमति र सहकार्यको विधि अपनाउन सम्बद्ध सम्पूर्ण सङ्गठनसित अपिल गर्दछ ।”
महासङ्घ अध्यक्ष पोखरेलद्वारा राजीनामा
यसैबिच, पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिनुभएको छ ।
२०८१ भदौ २४ गते उहाँले सामाजिक सञ्जाजमार्फत् आफ्नो राजीनामा सार्वजनिक गर्नुभएको हो ।
दुईपटक घोषणा गरेको चुनाव सम्पन्न हुन नसकेको र तेस्रोपटक घोषणा गरिएको चुनाव पनि समयमै हुन नसक्ने आशङ्का राजीनामामा व्यक्त गरिएको छ ।
हालसम्म महासङ्घले दिएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै पोखरेलले बाहिर बसेर पनि महासङ्घका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
