काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रदेश संरचनालाई भंग गर्नुपर्ने बताएकी छन्।
मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले प्रदेश संरचना र सरकारलाई भंग गर्नुपर्ने बताएकी हुन्। उनले सुदूरपश्चिम प्रदेशमा बजेट पारित हुन नसक्दा समस्या उत्पन्न भएको बताइन्।। त्यस्तै गण्डकी प्रदेशमा मन्त्री पद नै लिलामीमा चढेको भन्दै उनले प्रदेश संरचना सेतो हात्ती बनेको टिप्पणी गरिन्।
उनले प्रदेश संरचना सेतो हात्तीको रुपमा पाल्न नहुने बताइन्।
उनले भनिन् – ‘सुदूरपश्चिम प्रदेशमा बजेट पारित गर्न नसकेर कर्मचारीहरुले दसैँको मुखमा तलव पनि खान पाएका छैनन्। स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि त्यहाँबाट सामानहरू उधारो लिएर काम चलाउनु परेको छ। गण्डकी प्रदेशमा त मन्त्रीको पद नै लिलामीमा चढ्यो। यो के होरु त्यसैकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशको सरकार, प्रदेशस्तरलाई भंग गरौँ, सेतो हात्ती नपालौँ भनेको छ। हामीहरुले यस्तो खालका गाइजात्रा हेर्नु नपरोस्।’
सांसद कार्कीले गण्डकी प्रदेशमा एक मन्त्रीले वन मन्त्रालयमा तीतेपाति र वनमाराहरू हेर्न म जान्न भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन् ।