काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विवादमा तानिएका छन् ।
केही दिनअघि पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रहरी समायोजनमा असहयोग गरेको भन्दै ‘आइजीपी वसन्त कुँवरको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए।
मन्त्री गुरुङको अभिव्यक्तिलाई लिएर उनलाई बर्खास्त गर्नसमेत माग गरिएको छ । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद शंकर भण्डारीले मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।
‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त गरेकोमा त्यसको घोर भत्सर्ना गर्दै प्रधानमन्त्रीले मन्त्री गुरुङलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अभिव्यक्तिको कारण शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवारी स्वयं सरकार र प्रधानमन्त्री हुने कुरा व्यक्त गर्न चाहन्छु।’
भण्डारीले सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बंग्याएर समाजमा वितृष्णा फैलाउने र पार्टी पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न पनि अनुरोध गरेका छन्।
सञ्चारमन्त्री गुरुङ एमाले उपमहासचिवसमेत हुन् ।
सञ्चारमन्त्री गुरुङको अभिव्यक्ति विवादित बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गुरुङलाई सार्वजनिक रुपमा बोल्दा विचार पुर्याउन निर्देशन दिएका छन्।
मन्त्री गुरुङलाई प्रधानमन्त्रीले बोल्दा भाषा प्रयोगमा ख्याल गर्न निर्देशन दिएका हुन्।
