रामदेव पाण्डे ##
तिम्रा लागि म छु बुढा मेरा लागि तिमी छौ
हामी दुवै एक अर्काका परिपूरक हौँ
आजदेखि मिली हामी एउटा काम गरौँ न
सचेतना फैलाउन अघि सरौँ न
महिनावारी प्रकृतिको नियम अनिवार्य हो
त्यस्तो बेला भेद गर्नु घृणित कार्य हो
जन्म पनि रोकिन्छ नि महिनावारी नभए
चल्छ सृष्टि कसो गरी नारी नभए
महिनवारी सुत्केरीमा पौष्टिकता चाहिन्छ
छिः छिः गरी बाहिर राख्न कहाँ पाइन्छ ?
विभेदको अर्को नाम नछुने र छाउ हो
महिलाको मन कुँड्याउने ठुलो घाउ हो
न त पूर्व जन्मको पाप न हो कुनै अभिशाप
महिनावारीबाटै हुन्छ सृष्टि फलिफाप
जोई भोकै बस्दा पोइको बढ्छ आयु कसरी ?
नमानौँ न अन्धविश्वास हामी यसरी
पौष्टिक खाना सागपात ताजा ताजा खाएमा
बढ्छ आयु एक अर्काको साथ पाएमा
सुन कुरा डाक्टरका केही गर्नु अगाडि
जे ते कुरा नगरौँ है बनी अनाडी
खुट्टा पखालेको पानी फोहोर हुन्छ गनाउँछ
गोडाको जल नखानू है रोगी बनाउँछ
नारीपुरुष बराबरी यही सन्देश छर्ने हो
जे गरे नि नरनारी मिली गर्ने हो
तिम्रा लागि म छु बुढा मेरा लागि तिमी छौ
हामी दुवै एक अर्काका परिपूरक हौँ