काठमाडौँ । बारा जिल्लाबाट नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।
बाराबाट भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आइतवार बिहान बिहारको समस्तीपुरको एनएच (नेसनल हाइवे) २८ मा दुर्घटना हुँदा २६ जना बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।
तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो । बसमा ४३ जना सवार रहेकोमा अधिकांश घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्याएका थिए । भारतीय प्रहरीका अनुसार घाइतेमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ । उनीहरू सबैको परिचय खुलिसकेको छ ।
अस्पतालमा उपचाररत घाइतेमा बाराकै मुक्तिपलियाका गीता देवी, सीमाकुमारी विश्वनाथ मुखिया, शोभा कुमारी, राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, सियापति देवी, लक्ष्मी झा, रविन्द्रकुमार रामेश्वर साह, सुबोधप्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजलकुमारी, किशोरी साह, उषा देवीलगायत छन् । तीर्थयात्रीहरू सबै बारा जिल्लाका रहेका छ्न् ।
सडकमा पल्टिएको बसलाई क्रेन लगाएर सिधा बनाइएको थियो । बस र ट्रक दुवैका चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको त्यहाँको प्रहरीले जनाएको छ ।