काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह शाहू विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
साहुले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अवध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बिए तह उत्तीर्ण गरेको भनिएको झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको ठहर छ ।
उनले सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भइ लाभ, सुविधा लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
तसर्थ, वीरसिंह शाह भन्ने वीररसिंह शाहूलाई साविक भ्रष्टाचार निवारण ऐन–२०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।