काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।
सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा सडक छेउको नालामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीको नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
३९ वर्षीय कार्की माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष निर्वाचत भएका थिए। उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका पति हुन्। कार्की माओवादी केन्द्रको कर्णाली प्रदेश समिति सचिवालय सदस्य थिए ।
दुर्घटनामा घाइते भएका अन्य २३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको विश्वकर्माले बताए। अरु घाइते सबै खतरामुक्त छन्।