रिमा छन्त्याल #
घुम्दै आयो तिज नयाँ उमङ्ग बोकेर
नाच्दै गाउँदै मनाऊँ तीज सबै मिलेर
कहिले बाढी कहिले पहिरो देश हाम्रो रोइरह्यो
विनाशकारी भूकम्प नि देशमा आइरह्यो
घाम र पानी जस्तै हुने अस्थिर छ सरकार
गणतन्त्र बदनाम भयो किन बारम्बार
सङ्घयताले देश हाम्रो कङ्गाल भइसक्यो
भ्रष्टाचार र महङ्गीले देशै खाइसक्यो
अन्याय र अत्याचार देशमा अति भो
युवाजति विदेशिए देश खाली भो
विकृति र कुरीति छ दैनिक जस्तै हत्या
निस्वार्थ सेवाभाव खै त मानवता
छाडा अश्लील संस्कृति देशमा भित्रियो
छैन अब मौलिकता लाजै सकियो
छाडा गीत अश्लील नाच अब बन्द गरौँ न
सभ्य र सार्थक संस्कार सुरु गरौँ न
पुँजीवादको असरले देशै थला पर्यो
खरानीभन्दा जोगी धेरै कसले के गर्यो
अव्यावहारिक शिक्षाले बेरोजगारी बढायो
आत्मनिर्भर मिहिनेती बानी हरायो
उठौँ दिदी उठौँ बहिनी उठौँ न दाजुभाइ
समुन्नत सुनौलो दिन ल्याउनलाई
जनता पाल्ने गरिब महिला नगरौँ तिरस्कार
यो गीतको अन्त्य भयो सबलाई नमस्कार