रामदेव पाण्डे ##
जातपात मान्दिनँ म सम्प्रदाय जान्दिनँ
मान्छेलाई मान्छेभन्दा अरू ठान्दिनँ
छाती तातो रगत रातो हुन्छ सबै जनाको
मान्छे सानो ठुलो भन के गरेर भो
नारीपुरुष मिले मात्र सृष्टि पनि धानिन्छ
पुरुषभन्दा नारी सानो किन मानिन्छ ?
पुरुषकै बराबरी गर्दा पनि सबै काम
गिन्ती छैन महिलाको पुरुषकै नाम
खस्रो मिठो जे खाने हो एकैथरी खाने हो
सुखदुःख पर्दा बुढासँगै जाने हो
काम गर्दा पनि बुढाभन्दा कमी नगरौँ
महिला कमजोर हुन्छन् भन्ने भ्रममा नपरौँ
दुवै मिली काम गरी सकेजति कमाउने
घाँटी हेरी हाड निले झैँ सक्दो रमाउने
जुठो खाई गोडा मली गोडाको जल खाएर
मक्ख पर्न छोडौँ साडी सुन लाएर
न त पत्नी देवी हुन्छे न हो पति देवता
अन्धविश्वासबाट मुक्त बनौँ अब त
प्रकृतिका सिर्जना हौँ जीवन सराबरी हो
नारीपुरुष मान्छे दुवै बराबरी हो
नारी न त पुरुषका चरणकी दासी हो
बराबरी अधिकारकी अभिलाषी हो
दुवै सिङ्गा शरीर हुन् नमान्नू है पाउ शिर
बुझ्नुपर्छ एक अर्काको मर्का दुःख पिर
मान्छु म त मेरा पति संसारका जाती हुन्
सहयोद्धा सहयात्री जीवनसाथी हुन्
जातपात मान्दिनँ म सम्प्रदाय जान्दिनँ
मान्छेलाई मान्छेभन्दा अरू ठान्दिनँ