विष्णु शर्मा ##
कुनै बेला नारी सत्ता
समाजमा थियो बरिलै
अनेक थरी तिगडम गरी
पुरुषले लियो बरिलै
अनि जन्म्यो समाजमा
अनेक थरी वर्ग बरिलै
हेराहेरै गुम्न पुग्यो
महिलाको स्वर्ग बरिलै
सामन्तले जालझेल गरी
नारी पछि पार्यो बरिलै
सतिप्रथा चलाएर
ज्युँदै महिला मार्यो बरिलै
धर्मका ठेली बने
पुरुषको हितमा बरिलै
खुसी कहिल्यै पूर्ण हुन्न
एकपक्षस्य जितमा बरिलै
धर्मकर्म उचोनिचो
सबै ठेली कोरे बरिलै
उस जुनी र यस जुनी
दिमागमा भरे बरिलै
सललल बगी जाने
गाउँगाउँमा खोला बरिलै
सधैँ दमन सही बस्ने
होइन हाम्रो चोला बरिलै
उधो बग्ने काली गङ्गा
उधै हराहरी बरिलै
अंश लाउनू बाबाजीले
सबलाई बराबरी बरिलै
चाहिँदैन गाग्रीताउला
चाहियो हाम्लाई अंश बरिलै
मान्नुपर्छ छोरीलाई
जन्मकुलको वंश बरिलै
ठुलासाना आन्दोलनमा
लडेका छन् नारी बरिलै
दुस्मनका किल्ला ढाल्न
परेका छन् भारी बरिलै
सुत्केरीमा बच्चा बोकी
उनीहरू लडे बरिलै
निर्भीक भई नारीहरू
अघि अघि बढे बरिलै
कानुनका ठेलीहरू
पूजा गर्न होइन बरिलै
हकअधिकार व्यवहारमा
आजसम्म छैन बरिलै
व्यवहारमा लागु गर्न
नारी गर्जन चाहियो बरिलै
आधा धर्ती वञ्चित पार्न
अब कहाँ पाइयो बरिलै
निदाएका नारीजति
ब्युँझिएर उठौ बरिलै
सङ्घर्षको झिल्को बन्दै
मैदानमा जुटौ बरिलै

