काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलन बागमती प्रदेश समितिले तिसौँ विश्व आदिवासी दिवस मनाएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८१ साउन २५ गते शुक्रबार (अगस्त ९) का दिन राजमो केन्द्रीय कार्यालय भवनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको पूर्वार्द्धमा सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीले विश्व आदिवासी दिवसको पृष्ठभूमिबारे चर्चा गर्नुभएको थियो ।
आदिवासी जनजाति एउटै होइनन् : केसी
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष केसीले आदिवासी र जनजाति एउटै नभएको स्पष्ट पार्नुभयो ।
‘यहाँ नेपालमा त के छ भने आदिवासी र जनजाति भनेको एउटै हो’ उहाँले भन्नुभयो– ‘आदिवासी भनेको लामो समयदेखि एउटै ठाउँमा बसोबास गरेको जाति हो भने जनजाति भनेको सामाजिक, सांस्कृतिक रूपमा पिछडिएको जाति हो ।’

उहाँले समाज विकासको क्रममा जनजाति सधैँ सोही अवस्थामा रहन नसक्ने बताउँदै त्यसको उदाहरणको रूपमा नेवार जातिलाई अगाडि सार्नुभयो ।
‘नेवार जातिभित्रै दलित छ’ उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय प्रचलन के छ भने जुन जातिभित्रै दलित जाति हुन्छ, त्यो जनजाति हुँदैन । त्यसैले नेवार जनजातिभित्र पर्दैन भन्ने मान्यता छ ।’
उहाँले साम्राज्यवादीहरूले जनजातिभित्र जातिवादको अभ्यास गरिरहेको बताउनुभयो । त्यस सन्दर्भमा उहाँले पहिलो संविधानसभा कालमा जातिवादीको चलखेलबारे चर्चा गर्नुभयो ।
नयाँ जनवादी क्रान्ति आवश्यक : शर्मा
कार्यक्रमलाई सम्बोधन गर्दै वामपन्थी नेता आनन्द शर्माले नेपालमा आदिवासी जनजाति समुदायको समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नयाँ जनवादी क्रान्ति नभई आदिवासी जनजातिका समस्याको समाधान सम्भव छैन ।’
आदिवासी जनजातिको समस्या मूलतः वर्गीय समस्या भएको बताउँदै उहाँले त्यसका लागि जनवादी क्रान्तिको आवश्यकता औल्याउनुभएको हो ।
नेकपा (मसाल) ले आदिवासी जनजातिका समस्यालाई ठिक तरिकाले सम्बोधन गरेको दावी गर्दै उहाँले अगाडि भन्नुभयो– ‘नेपालका आदिवासी जनजातिहरू जनवादी क्रान्तिचेतका साथ अगाडि बढ्नुपर्छ । जनतामाझ त्यो चेतना प्रदान गर्नुपर्छ ।’
मातृभाषामा शिक्षा दिने व्यवस्था गर्नुपर्छ : पुन
अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले कार्यक्रममा सम्बोधन गर्दै आदिवासी जनजातिको भाषिक उन्नतिका लागि मातृभाषामा शिक्षा दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

‘जनजातिको भाषा उन्नयनका लागि विद्यालय स्तरमा मातृभाषामा शिक्षा दिने व्यवस्था गरिनुपर्दछ’ उहाँले भन्नुभयो– ‘त्यसका लागि राज्यले आर्थिक लगानीसमेत गर्नुपर्दछ ।’
आदिवासी जनजातिका लागि आरक्षण आवश्यक रहेको बताउँदै उहाँले मूल धारमा नआएका जातजातिका लागि नै त्यो आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘तर आरक्षणको निश्चित अवधि तोकिनुपर्दछ । सर्वकालिक आरक्षण भन्ने कुरा हुँदैन ।’
कार्यक्रममा अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारी, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य कमल पौडेल, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका गोवर्द्धन सुनारले पनि मन्तव्य राख्नुभएको थियो ।
राजमो काठमाडौँका सचिव छवि खनालको समेत आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्ष प्रदेश समितिका दावा लामाले, सञ्चालन अर्जुन थापाले र स्वागत मन्तव्य शुभराज गोलेले गर्नुभएको थियो ।
