काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले क्रान्तिकारी दर्शनद्वारा गलत विचार सफा गर्न सकिने बताउनुभएको छ ।
२०८१ साउन २५ गते शुक्रबार राष्ट्रिय जनमोर्चाद्वारा आयोजित बिसौँ पार्टीस्कुलको समापन कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘समाज जे जस्ता चिन्तन, प्रवृत्ति र संस्कार हुन्छन्, कम्युनिस्ट पार्टीमा त्यसको प्रभाव पर्दछ’ उहाँले भन्नुभयो– ‘सही दर्शनको आधारमा सही र गलत छुट्याउन सकिन्छ र यसरी गलत विचार सफा गर्न सकिन्छ ।’
महामन्त्री सिंहले क्रान्तिकारी दर्शन, विचार र सिद्धान्तकै कारण कम्युनिस्टहरू समाजको सचेत तप्कामा परिणत हुने उहाँले बताउनुभयो ।
‘मार्क्सका अनुसार कम्युनिस्टहरू भावी समाजका नागरिक हुन्’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसैले कम्युनिस्टहरू विचार, दृष्टिकोण, आचरण र संस्कारका हिसाबले आम जनताभन्दा माथि हुनुपर्दछ ।’
उहाँले यस सन्दर्भमा लेनिनलाई उद्धृत गर्दै भन्नुभयो– ‘लेनिनले भनेका छन्, कम्युनिस्ट आम जनताबाट आएका तर चेतनास्तरको हिसाबले आम जनताभन्दा माथि उठेका वैचारिक तप्का हुन् ।’
कार्यक्रममा राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले समेत सारगर्भित मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी, प्रशिक्षार्थीको तर्फबाट विष्णु खवास, चन्द्रदेव विक, केबी घले, पूर्णबहादुर शाही, थानेश्वर सुवेदी, पूर्णबहादुर शाही र सम्झना सुवेदीले पनि मन्तव्य राख्नुभएको थियो ।
मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको सञ्चालन तथा मुख्य प्रशिक्षक दुर्गानाथ खरेलको अध्यक्षतामा कार्यक्रम अघि बढेको थियो ।

सो अवसरमा राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधु क्षेत्री, सचिव घनश्याम न्यौपाने, केन्द्रीय सदस्य सुधा शर्मा, मेस व्यवस्थापनबाट चन्द्रा श्रीस, राजमो सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह, महासचिव भीष्म जोशी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारी र युगदर्शन मिडियाका प्रकाश थापामगरको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरूलाई १५ दिन प्रशिक्षण लिएबापत् राजमोको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
राजमो अध्यक्ष केसीले सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।