बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले बडिगाडका बाढीपहिरोपीडितलाई राहत बाँडेको छ ।
राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष अमर थापा र नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजाको उपस्थितिमा २०८१ साउन २४ गते बिहीबार राहत बाडिएको हो ।
राजमो बागलुङको टोलीले बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० को दर्लिङमा सो राहत बाडेको छ ।

बागलुङका पूर्व अध्यक्षसमेत रहनुभएका थापाका अनुसार बाढीपहिरो परी मृत्यु भएकालाई जनही पाँच हजारका दरले र घाइतेलाई जनही तीन हजारका दरले रकम वितरण गरिएको छ ।
केन्द्रीय सल्लाहकार थापाले भन्नुभयो– ‘घटनास्थलमा पुगेर राहत वितरण गर्नुका साथै बाढीपहिरोपीडितलाई प्रत्यक्ष रूपमा भेटघाट गर्ने तथा सान्त्वना दिँदै त्यहाँको वस्तुस्थितिसमेत बुझ्ने काम भएको छ ।’

गत साउन २२ गते मङ्गलबार बिहान बडिगाडको वडा नम्बर ९ र १० लाई प्रभावित पार्ने गरी पहिरो खसेको थियो । त्यसबाट वडा नम्बर ९ मा एउटा र वडा नम्बर १० मा तीनओटा घर पुरिएका थिए ।
पुरिएका घरबाट हालसम्म नौ जनाको शव फेला परिसकेको छ । पहिरोबाट ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिने छोरी सीता विक, ७० वर्षीया मैतीदेवी विक, सात वर्षीया मधु बुढा, तीन वर्षीय आरुस थापा र ११ वर्षीय मनोज बुढाको शव फेला परिसकेको छ ।

घटनामा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले युगदर्शनलाई बताउनुभयो ।

एघार वर्षीय सुमन थापा अझै बेपत्ता रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गतले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएका थापाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।
