अशोक खनाल, भालुवाङ (दाङ) ।
राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
समूहका अध्यक्ष कर्णबहादुर केसीको अध्यक्षता तथा पालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यमा २०८१ साउन २४ गते बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
राप्ती नदीमा पर्यापर्यटन प्रवर्द्धन विकासका लागि साहसिक तथा मनोरञ्जनात्मक जलयात्राका लागि मोटरबोट सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ई.आई.ए.) गर्न लागेको अवसरमा सोसुनुवाई कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि विष्टले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको एक सामुदायिक वनको क्षेत्रमा रहेको राप्ती नदीमा मोटरबोट सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यका साथ सञ्चालन हुन लागेको यस कार्यक्रमलाई पालिकाबाट पूर्ण साथसहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा राप्तीमा नदीजन्य पदार्थ निकाल्दा हेभी स्काभेटर, जेसिबी मेसिन प्रयोग गर्दा नदी भासियो भनेर विरोध गर्नुहुने यस क्षेत्रका वरिष्ठ पत्रकार महेश रिजाललाई उहाँले धन्यवाद दिनुभयो ।
कार्यक्रममा सबडिभिजन वन कार्यलय मसुरियाका वरिष्ठ वन अधिकृत विनोदकुमार शाह, रामजहदी सामुदायिक वन समूहका अध्यक्षा डिल्लीराज सुवेदी, नेपाल राष्ट्रिय मावि भालुबाङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मरासिनीलगायतले मन्तव्य दिनुभएको थियो ।
उक्त मोटरबोट सञ्चालनका लागि पर्यटन विभागमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेस गर्नका लागि इन्भाइरनमेन्टल च्यालेन्ज प्रालिले काम गरिरहेको जानकारी दिइयो ।
