तमघासबजार । गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरूको सामूहिक दाहसंस्कार गरिएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका‐१ बिसौनामा मङ्गलबार बिहान पहिरोमा परी मृत्यु भएका दुई घरपरिवारका चार जनाको आज स्थानीय बडीघाट खोलामा सामूहिक दाहसंस्कर गरिएको हो ।
मङ्गलबार बिहान ९ बजे बिसौनाका विष्णु विकको घर पहिरोले पुरिँदा उनकी ६६ वर्षीया आमा मसुरी विक, दुई वर्षीया छोरी रियन्सी विक, ६७ वर्षीय हुकुम विक र ४६ वर्षीय गोरे विकको मृत्यु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तमघासबाट चिकित्सक पठाएर घटनास्लथलमै शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको थियो । उक्त शवलाई आज बिहान हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।
उक्त घटनामा परी विष्णु विक र उहाँकी पत्नी मुना विक गम्भीर घाइते हुनुभएको थियो । उहाँहरूको अहिले मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यसअघि गत आसार १४ गते गुल्मीको मालिका गाउँपालिका‐६ अर्जेमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको थियो ।