बुटवल । अखिल नेपाल शिक्षक सङ्घको सातौँ राष्ट्रिय परिषद् २०८१ असोज ३ देखि ५ गतेसम्म बुटवलमा हुने भएको छ ।
२०८१ साउन १८ र १९ गते बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
सङ्घका केन्द्रीय अध्यक्ष सानोभाइ कार्कीको अध्यक्षतामा बसेको बैठकले नेपाल शिक्षक महासङ्घको दोस्रो महाधिवेशन र त्यसपछिका गतिविधिबारे समीक्षा गर्नुका साथै राहत शिक्षकको बिरामी बिदा सञ्चित नहुने भनी सबै स्थानीय तहलाई परिपत्र गरिएकोप्रति कडा शब्दमा
प्रतिवाद गर्दै उक्त परिपत्र सच्याउदै बिरामी बिदा सञ्चित हुने व्यवस्था गर्नेलगायतका माग राखेर शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको बताइएको छ ।
सङ्घको मुखपत्र “जनशिक्षा” वर्ष १४ अङ्क १० को समीक्षा गर्दै यसलाई थप स्तरीय र परिमार्जन गर्दै लैजाने निर्णय भएको पनि प्राप्त सूचनामा उल्लेख छ ।
उपस्थित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आआफ्नो जिम्मेवारी र क्षेत्रको रिपोर्टिङ गरिएको सो बैठकले सातौँ राष्ट्रिय परिषद्लाई व्यापक र प्रभावकारी तुल्याउनको लागि व्यापक छलफलसहित आवश्यक विभिन्न निर्णय गरिएको सङ्घले जानकारी गराएको छ ।
