कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । मान्छेमाथि आक्रमण गरेर उखुबारीमा लुकेको बाघलाई २४ घण्टापछि शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो ।
दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहलाई बिहीबार मारेर बाघ उखुबारीमा पसेको थियो ।
बिहीबार दिउँसो ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोलीले शुक्रबार बिहान औषधीसहित बेहोस हुने सुई लगाएर समात्न सफल भएको हो।

बाघ समात्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन भएको थियो भने बर्दिया राष्ट्रिय निकुञ्जबाट डार्ट गर्ने अर्को टोली पनि आएको थियो ।
बिहीबार साँझसम्म बाघ समात्ने प्रयास असफल भएपछि सुरक्षाकर्मी र स्थानीयले उखुबारीको वरिपरी रातभर पहरा दिएका थिए ।
उखुबारीमा देखिएको बाघ नियन्त्रणमा लिन बिहीबार दिउँसो ४ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया र शुक्ला पोष्टबाट ४ हात्ती परिचालन गरिएको थियो । हिंस्रक बाघलाई नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित बनेका थिए ।
बाघ लुकेको उखुबारी झण्डै १० बिगाह क्षेत्रफलमा फैलिएको छ। उखुबारीलाई सुरक्षाकर्मीले सेतो कपडाले घेरेका थिए । शुक्रबार बिहान डार्ट गरेर बाघलाई नियन्त्रणमा लिइएको हो ।
