काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमानसिंह प्रधानले संसदीय सुनुवाइ समितिबाट आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ चलिरहेका प्रधानले आफ्नो नाम अनुमोदन नहुने सङ्केत पाएपछि २०८१ साउन १४ गते सोमबार नाम फिर्ता लिएका हुन् ।
सुनुवाइ समितिबाट नाम फिर्ता लिँदै लिँदै प्रधानलले दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको बताएका छन् ।
संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गरेर पत्र पठाउँदै प्रधानले भनेका छन्– “मेराउपर निजी पारिवारिक एवम् सामाजिक जीवनमा समेत अतिरञ्जित दुष्प्रचार गरी केही समूह सकृयतापूर्वक लागेर चालिसौँ वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु ।”
“सङ्गठित रूपमा लागेपछि झुटहरू कति डरलाग्दो रूपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले मैले महसुस गरेको छु” उनले पत्रमा उल्लेख गरेका छन् ।
उनले संवैधानिक परिषदको सिफारिसप्रति निष्ठावान् रहेको भन्दै “भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान् रहने वचनबद्धता” समेत व्यक्त गरेका छन् ।
सुनुवाइ समितिले असार ७ गते प्रधानका विषयमा उजुरी आह्वान गर्दा पाँच उजुरी प्राप्त भएका थिए । तीमध्ये एक महिलाले प्रधानले आफूलाई यौनशोषण गरेको व्यहोरा उल्लेख गरेकी थिइन् ।
उनले एक महिलालाई जागिर लगाइदिन्छु भनी यौनशोषण गरेको र पछि ठुलो रकम तिरेर अदालतको मुद्दामा मिलापत्र गरेको उजुरी तथा अन्य प्रमाणहरू संसदीय समितिमा पुगेका थिए ।
सो प्रमाण भेटेपछि संसदीय सुनुवाइ समितिमा सांसदहरूले उनको नैतिक चरित्रमाथि प्रश्न उठाएका थिए ।
