काठमाडौं । करिब तीन वर्षअघि यौनकाण्डमा मुछिएका नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहको विबाद सतहमा आएको छ ।
२०७९ सनल असारको सो प्रकरणमा पार्टीले वेवास्ता गरेको ती महिलाले गुनासो गरेकी छन् । एमाले स्रोतका अनुसार पीडित महिलाले शाहमाथि कारबाही गर्न माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई लिखित निवेदन दिएकी छन् ।
२०७९ असारमा शाह र कर्णालीकै एक एमाले जिल्ला कमिटी सदस्य महिलाको भिडिओ सार्वजनिक भएको थियो।
ती महिलाकै आईडीबाट अपलोड भएको ३५ सेकेन्डको भिडिओमा शाह र ती महिला एउटै बेडमा सुतेका देखिन्छन्।
तत्कालीन अवस्थामा उक्त प्रकरणबारे छानबिन नगरेकोमा एमाले नेतृत्वको आलोचना भएको थियो ।
ती महिलाले शाहले सुरूमा पढाइदिने भनेर प्रलोभन दिएको र पछि डरत्रास देखाएर धाकधम्कीसमेत दिन थालेको आरोप लगाएकी छिन्।
आफूले विवाह गरिसकेको भए पनि शाहकै कारण आफ्नो पारिवारिक जीवन नै अफ्ठ्यारोमा परेको उनको गुनासो छ।
शाहले आफूलाई यौन शोषण गरेको भन्दै ती महिलाले अध्यक्ष ओलीलाई सम्बोधन गरी उजुरी दिएपछि पार्टीको अनुशासन आयोगले छानबिन थालेको छ ।
आयोगका उपाध्यक्ष नेत्र पन्थीको संयोजकतत्वमा गठित तीन सदस्यीय समितिले छानबिन थालेको हो । पन्थी नेतृत्वको समिति असार १३ गते सुर्खेत पुगेको थियो । त्यसपछि सल्यान, दाङलगायतका जिल्लामा पुगी सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरेको एमाले स्रोतले जनाएको छ ।
टोलीले हालसम्म पार्टीलाई प्रतिवेदन भने बुझाएको छैन। एक नेताले दिएको जानकारी अनुसार, प्रतिवेदन तयारीको अन्तिम चरणमा छ।
यौन काण्डमा मुछिएका शाह गत असोज दोस्रो साता भएको कर्णाली प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षमा निर्वाचित भएका थिए ।