काठमाडौं । सरकारले सौर्य एयरलाइन्स दुर्घटना छानबिनका लागि आयोग गठन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रतीशचन्द्रलाल सुमन संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको संयाजकत्वमा गठन गरिएको आयोगको सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन्।
आयोगलाई ४५ दिन म्याद दिइएको छ।
यस्तै, भोलि (बिहीबार) शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको पनि मन्त्री गुरुङले जानकारी दिए।
बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ। दुर्घटनामा पाइलट गम्भीर घाइते भएका छन्।