काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले पुष्पकमल दाहाल नेतृत्वको सरकारले बीआरआई परियोजनालाई अगाडि बढाउन लागेपछि सरकार परिवर्तन भएको दाबी गरेका छन्।
बिहीवार नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको बीआरआई वास्तविकता र भ्रम विषयक अन्तरक्रियामा बोल्दै महासचिव गुरुङले उक्त परियोजना अगाडी बढाउन लागेपछि सरकार परिवर्तनको खेल सुरु भएको बताए।
‘पछिल्लो समयमा द्वीपक्षीय वार्ता भएर जब अब हस्ताक्षर गर्नुपर्छ, प्रक्रिया अगाडी बढ्नुपर्छ भन्ने चरणमा पुगेको थियो। ठिक त्यही चरणमा पुग्ने क्रममा सरकार परिवर्तनको खेल सुरु भएको छ। सबैलाई जगजायर नै छ,’ उनले भने, ‘जब बीआरआईमा हस्ताक्षर गर्ने भन्ने तयारीको चरणमा गइराखेको थियो, त्यो बेलामा सरकार परिवर्तन भएको छ। सरकार परिवर्तन हुनु अघिल्लो दिनमात्रै नयाँ सरकारमा सहभागि हुने मध्ये एउटा घटकले मध्यरातको सम्झौता हुने अघिल्लो दिन एउटा वक्तव्य प्रकाशन गरेको छ।’
सन् २०१७ मा बीआरआईमा सम्झौता भएको उल्लेख गर्दै अहिले नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौता गर्ने चरण रहेको उनले बताए। दाहाल नेतृत्वको सरकारले नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौता गरेर प्रक्रिया अगाडि बढाउन लागेकै बेला सरकार परिवर्तन भएको उनको तर्क थियो।
कांग्रेस–एमालेका बीचमा सरकार बनाउने सहमती हुनुको अघिल्लो दिन एक दलले ऋणसहितको बीआरआई लिनु हुँदैन भनेर वक्तव्य जारी गरेको भन्दै यसले सरकार परिवर्तन हुनुको एउटा ‘फ्याक्टर’ बिआरआई भएको देखाएको उनको जिकिर थियो।
‘२०१७ मै सम्झौता भइसकेको छ। नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौता गर्ने चरण अहिले हो। नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौताका लागि गत वर्षदेखि निरन्तर छलफल चलिराखेको छ। निरन्तर संवाद चलिराखेको छ,’ उनले भने, ‘तर यसमा नीतिगत सहमतीको डकुमेन्ट तयार गर्ने क्रममा नेपालको तर्फबाट सहमती हुँदाहुँदै पनि यसको हस्ताक्षर गर्ने प्रक्रियामा विलम्ब भइरहेको छ। पटक–पटक यसको हस्ताक्षरका लागि प्रयास भएको छ।’
दलहरुका बिचमा समझदारी जुटाएर बीआरआई परियोजनालाई अगाडि बढाउनुको विकल्प नभएको जिकिर गर्दै महासचिव गुरुङले मुलुकको समृद्धिको लागि बीआरआई परियोजना आवश्यक रहेको पनि बताए।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बीआरआई परियोजनाको बारेमा स्पष्ट रुपमा जनतालाई बुझाउन जरुरी रहेको बताए ।
नेता चन्दले बीआरआई मार्फत चीनले सैन्य दृष्टिकोणसहित नेपालमा आफ्नो आर्थिक लगानी गर्न खोजेको हो भने यसबारेमा छलफल हुने बताए। उनले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार विकास र समृद्धिका लागि मात्रै बीआरआई अगाडि बढेको हो भने यो कुरा जनतालाई बुझाएर जानुपर्ने बताए। उनले बीआरआईका बारेमा अपव्याख्या हुँदा त्यसको मार पनि नेपाली जनताले भोग्नुपर्ने बताए।