काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ ९२० अनुसार आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर
आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
संविधानको धारा ७६ ९२० मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
शपथ सोमबार
यसैबीच नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय संसदलाई निमन्त्रणा पठाएको छ ।
राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ ।
‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१।३।३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ’, राष्ट्रपति कार्यालयले संघीय संसदका महासचिवलाई पठाएको पत्रमा भनिएको छ ।
