काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी र गिरिबन्धु टीस्टेट प्रकरण ढाकछोप गर्नका लागि कांग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिनुभएको छ ।
आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले त्यस्ता काण्डहरुबाट आफूलाई चोख्याउन कांग्रेस एमालेले नयाँ सत्ता समीकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताउनुभएको हो ।
अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरु भ्रष्ट छन् भन्नेकुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिनुभयो ।
अध्यक्ष केसीले भन्नुभयो, ‘यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भूटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी स्टेटको काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न । त्यसकारण यहाँ कसैले पनि रोष्टमबाट आफ्नो सफाई दिएपनि नेपाली जनताले भोगी राखेका छन, देखिराखेका छन् । त्यसकारणले को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ? त्यसकारण यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो ?’
केसीले नेपाली जनताले राजनीतिक पार्टीहरुप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अब बन्ने सरकारले काम गर्नुपर्ने पनि बताउनु भयो ।
उहाँले एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । संसदको ठूलो दल कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उहाँको भनाई थियो ।
‘आफ्नो भ्रष्टाचारालाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन । मैले एक वर्ष पहिले नै भनेको थिए–तपाईहरु संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्दैन थ्यो ? किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो । त्यो पनि सबभन्दा ठूलाले होइन, माईलो पार्टीले गर्दैछ । यसमा पनि दालमा काला हए’ केसीले भन्नुभयो, ‘राजनीतिक पार्टीहरुप्रति नेपाली जनताको असाध्यै घृणा छ । नेपाली जनताले हामीलाई त्यसै घृणा गरेका हुन् ? किन घृणा गरिराखेका छन् भने राजनीति गर्ने भनेको कमाउने । पैसा जम्मा गर्ने । र, आउँदो चुनावलाई करोडौं रकम जम्मा गर्ने । जोसुकै होस चाहे नयाँ आएकाका कुरा गरौं, चाहे पुरानाका कुरा गरौं ।’