काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशैभरिका धेरै ठाउँमा शुक्रबार रातिदेखि अविरल झरी परेको छ । अहिले पनि देशभरका धेरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो केही घण्टादेखि काठमाडौँ उपत्यकामा पनि अविरल वर्षा भइरहेको छ । वर्षाले गर्दा काठमाडौँ उपत्यकाका सबै खोलानाला र नदीको जलस्तर बढेको छ । त्यस क्रममा ललितपुरको खड्कुखोलाले जलसतह पार गरिसकेको छ ।
शुक्रबार राति काठमाडौँसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठुलो वर्षा भइरहेको छ ।
पछिल्लो केही घण्टायता अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा बर्षामापन केन्द्रमा भारी वर्षामापन भएको महाशाखाले जनाएको छ । त्यस्तै, पाल्पाका विभिन्न ठाउँमा ठुलो वर्षा भइरहेको छ । वर्षाले गर्दा यी क्षेत्र भई बग्ने साना खोला तथा नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
शनिबार दिनभरि देशभरिका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेसका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । त्यस क्रममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना छ ।
शनिबार राति कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।