सोल । कोरिया नेपाली एकता समाजको दोस्रो राष्ट्रिय भेला राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा आगामी सेप्टेम्बर १५ देखि १८ (२०२४) को माझमा हुने भएको छ ।
कोरियावी पर्व छुसकको अवसर पारेर एकता समाजले उक्त कार्यक्रमको आयोजना गर्न थालेको हो ।
जुन ३० आइतबारका दिन भर्चुअल माध्यमबाट बसेको समाजको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको कार्यवाहक अध्यक्ष ऋषि पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष विष्णु पुनले भिसाअवधि सकिएर आफू नेपाल फर्कन थालेको भन्दै राजीनामा दिनुभएपछि उक्त बैठकले पौडेललाई कार्यवाहक अध्यक्षमा चयन गरेको समाजले जनाएको छ । कावा अध्यक्ष पौडेल यसअघि सचिव हुनुहुन्थ्यो ।
एवम् प्रकारले बैठकले यसअघि केन्द्रीय सल्लाहकार रहनुभएका धनबहादुर थापालाई उपाध्यक्षमा चयन गरेको छ ।
त्यस्तै, बैठकले यसअघिका उपाध्यक्ष करुण पौडेललाई महासचिवमा चयन गरेको छ भने सचिवमा विशाल पहाडीलाई पदपूर्ति गरेको छ ।