काठमाडौं । पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई सी दलले कारबाही गर्ने तयारी गरेको छ ।
रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताए ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी महामन्त्री डा। मुकुल ढकालबारे राखेको जिज्ञासामा यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले अहिले केही पनि नभएको र महामन्त्रीलाई दिएको जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई बुझाएको भन्दै बुधवार बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले सोबारेमा निर्णय लिने बताए।
बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताउँदै पार्टीको अनुशासनबाट बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताए।
‘उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो। त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला। त्यसकारणले पार्टी सभापतिज्यूलाई बुझाउनुभएको छ। हामी बैठक बस्दैछौँ। पर्सिको बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौं’ उनले भने, ‘पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने त्यो कारबाही हुनसक्छ।’
उनले आफूले प्रतिवेदन नपाएको प्रतिवेदन पाएर अध्ययन गरेपछि मात्रै आफ्नो धारणा बनाउने बताए।
महामन्त्री ढकालले सभापति लामिछानेका कारण पार्टीको अवस्था खस्किएको प्रतिवेदन दिएपछि लामिछाने उनीप्रति आक्रोशित बनेका छन्।