काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भनाई र गराईमा अन्तर रहेको भन्दै रास्वपा मकवानपुरका ६ जना नेताले पार्टी परित्याग गरेका छन्।
गृहमन्त्रीसमेत रहेका पार्टी सभापति लामिछाने सत्तालिप्सा र भागबण्डामा लागेको उनीहरूको आरोप छ ।
पार्टी परित्याग गर्नेमा रास्वपा मकवानपुरका सचिवालयका सचिव भुवन खनाल, मकवानपुर संघीय क्षेत्र नम्बर १ का उपसभापति जगदीश दाहाल, हेटौँडा उपमहानगरपालिका सदस्य टंकबहादुर हिम्डुङ, हेटौँडा १७ नम्बर वडा सचिव श्याम सुन्दर राई, सोही वडा कार्यसमितिका उपसभापति विकास श्रेष्ठ र हेटौँडा उपमहानगरपालिका १३ नम्बर वडा समितिका सिंगो वडा समितिले नै पार्टी परित्यागको घोषणा गरेको हो।
‘देशको उपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका पार्टी सभापति रवी लामिछाने ज्यूले आफू सञ्चरकर्ममा रहँदा राजनीतिज्ञलाई आफू राजनीतिमा आएपछि सञ्चारक्षेत्रलाई, प्रतिपक्षमा हुँदा सरकारलाई र सरकारमा हुँदा प्रतिपक्षलाई गाली गर्ने बाहेक केही गर्न सक्नुभएन। उहाँको बोली र काममा ठूलै अन्तर देखिएको प्रष्ट छ,’ विज्ञप्तीमा भनिएको छ।