काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशी सुरक्षाकर्मी नेपालभित्र प्रवेश गरेर गोली चलाउँदासमेत नेपालका सुरक्षाकर्मीले थाह नपाउने गरेको बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री उप्रेतीले यस्तो बताएका हुन् ।
उनले भने, ‘कुनै अपराधीहरु आएर लुक्यो । विदेशबाट आएको सुरक्षाकर्मीले इक्काउन्टर गर्दाखेरी नेपालको सुरक्षाकर्मीलाई थाहा हुँदैन । सुरक्षा परिषद्लाई थाहा हुँदैन । त्यो अवस्था पनि छ । त्यसको लागि तीनैवटा सुरक्षा संयन्त्रको समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्ने छ ।’
सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताए ।
अन्तर्राष्ट्रिय प्रचलन अनुसार सामान्य अवस्थामा सीमा सुरक्षाको लागि नेपाली सेना सीमामा बस्न नमिल्ने बताउनुभएको हो । उनले नेपाली सेनाले दूरीमा बसेर सीमा सुरक्षाको निगरानी गरिरहेको बताउनु भयो ।
मन्त्री उप्रेतीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृङ्खलताको कारणले गम्भीर संकट उत्पन्न भएमा मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्न सक्ने भन्दै त्यस्तो परिस्थिति आएमा सेना तयार रहेको बताए ।
उनले राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक तर्जुमा भइ प्रक्रियामा अगाडी बढाइएको पनि जानकारी दिए ।
उनले नयाँ पिढीमा राष्ट्रभाव कमजोर भइरहेको भन्दै राष्ट्रभाव जागृत गराउन राष्ट्रिय सेवा दललाई प्राथमिकतामा राखेको बताए ।