काठमाडौँ । अनलाइन पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घले जारी गरेको मतदाता नामावलीप्रति असहमति प्रकट गरेको छ ।
सङ्घका अध्यक्ष डिल्लीप्रसाद सापकोटा र महासचिव गोविन्द मरासिनीद्वारा २०८१ असार ९ गते जारी प्रेसवक्तव्यमा सो जानकारी गराइएको हो ।
अनलाइन सङ्घले आफ्ना क्रियाशील पत्रकारका सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता स्वीकार गर्ने, केहीलाई स्थानान्तरण गर्ने र एक जनालाई मानार्थ सदस्यता प्रदान गर्न माग गरेको छ ।
आफ्ना माग नसुनिए कानुनी बाटो अवलम्बन गर्ने चेतावनी दिइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समिति–२०८१ ले यही मिति २०८१।०३।०७ गते सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
सङ्घको विधान २०६४ अनुसार कार्यसमिति बैठकले स्वीकृत गरी नेपाल पत्रकार महासङ्घ एसोसियट प्रदेश समिति समक्ष पठाएका सदस्य नामावलीमा हेरफेर गरी सार्वजनिक गरिएकोमा सङ्घ असहमति प्रकट गर्दछ ।
अनलाइन पत्रकार सङ्घको २०८०।०३।०१ गते बसेको बैठकले ५१ जना सदस्यको नवीकरण, २३ जना नयाँ सदस्यको स्वीकृत, ७ जनाको स्थानान्तरण र एक जनालाई मानार्थ सदस्यको लागि एसोसियट प्रदेश समितिमार्फत नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा पठाएको थियो तर केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीमा नयाँ सदस्य उल्लेख नभएको, कतिपय नवीकरण नगरेका भनी उल्लेख गरेर पठाएका सदस्यलाई महासङ्घले सङ्घलाई जानकारी नगराई नवीकरण गर्नु अत्यन्त गैरजिम्मेवारी कार्य हो । सङ्घले विधानअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर पत्रकारितामा क्रियाशील पत्रकारलाई नयाँ सदस्यको स्वीकृति दिएको केन्द्रीय निर्वाचन समितिसमक्ष पुनः स्मरण गराउन चाहन्छ ।
सङ्घले सिफारिस गरेका क्रियाशील पत्रकारलाई सदस्यता नदिने र सङ्घलाई जानकारी नगराई मनोमानी ढङ्गले सदस्यता दिने निर्णय तत्काल सच्याउन अनलाइन पत्रकार सङ्घ जोडदार माग गर्दछ ।
सङ्घका जायज र विधानसम्मत मागलाई बेवास्ता गरेर नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन गर्नुरगराउनु औचित्यपूर्ण हुन्छ भन्ने हामीलाई लाग्दैन । तसर्थ अनलाइन पत्रकार सङ्घले उठाएका जायज र विधानसम्मतका मागलाई उचित सम्बोधन गरी नेपाल पत्रकार महासङ्घले हामीलाई चुनावमा भाग लिन उपयुक्त वातावरण निर्माण गरिदिने छ र कानुनी बाटो अवलम्बन गर्न बाध्य पार्ने छैन भन्ने हाम्रो विश्वास छ ।”