काठमाडौँ । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । २०८१ असार ६ गते बिहीबार बसेको परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा परिषद्का अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने निर्णय गरेको बताइएको छ । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली खटाएको छ ।
बैठकले परिषद्लाई थप व्यवस्थित गर्न डिजिटलाइजेसनमा लैजाने निर्णय गरेको छ । मन्त्री चौधरीले परिषद्लाई डिजिटलाइजेसनमा लैजान यसअघि नै निर्देशन दिनुभएको थियो ।
साथै बैठकले परिषद्का पदाधिकारीको कार्य विभाजन हेरफेर गरेको छ । जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकार उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यलाई प्रत्यायोजन गर्ने जनाएको छ ।