सन्धिखर्क । भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा सञ्जालले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा युवा क्षेत्रका कार्यक्रम समावेश गर्न भूमिकास्थान नगरपालिकासमक्ष माग गरेको छ ।
सञ्जालका संयोजक टेकराज भुसालले २०८१ असार ३ गते सोमबार १० बुँदे मागपत्र नगर कार्यपालिकाको बैठकमा नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली र पालिकाका सम्पूर्ण कार्यपालिका सदस्यसमक्ष पेस गर्नुभएको हो ।
सो अवसरमा संयोजक भुसालले नगरस्तरीय युवा सञ्जाल गठन भई विभिन्न नेतृत्व विकास र अन्य तालिम सञ्चालन गर्दै आइरहेको व्यहोरा अवगत गराउँदै युवा वर्गको क्षमता र नेतृत्व विकासको अपेक्षित नतिजा हासिल गर्न, युवामैत्री स्थानीय शासनको विकास गर्नका लागि स्थानीय तहले युवाको क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताउनुभयो ।
नगरप्रमुख थापाले सञ्जालले राखेका मागलाई कार्यान्वयन गर्न आफू र पालिका तयार रहेको र आगामी बजेटमा युवा क्षेत्रका कार्यक्रम समावेश हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
