पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्दै छन्।
मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका सांसद फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’ लाई मन्त्री बनाउन लागेका हुन् ।
देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
दीपक मनाङे स्वतन्त्र रुपमा निर्वाचन जितेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पछि उनले सो दल पनि त्यागेको घोषणा गरेका थिए ।
यता, माओवादी केन्द्रको चुनाव चिह्न हँसिया–हतौडाबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्विप जारी भए पनि फ्लोर क्रस गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए। सोहीबापत उनले मन्त्री पद उपहार पाउने भएका हुन्।
माओवादी चुनाव चिह्नबाट चुनाव लडे पनि देवकोटाले आफू अर्कै पार्टीको सांसद भएको जिकिर गरिरहेका छन् भने फ्लोर क्रस गरेको भनेर माओवादी केन्द्रले कारबाही गर्ने चेतावनी दिइरहेको छ।