नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा गठित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता नरेन्द्र मोदीले जुन ७, २०२४ शुक्रबार राष्ट्रपतिसँग गठबन्धन सरकारको दाबी प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
विगत एक दशकसम्म एकल बहुमतको आधारमा शासन गरेका मोदीको हिन्दु–राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो अघिल्लो दुई फराकिला जित दोहोर्याउन असफल भएपछि गठबन्धन सरकारको दाबी गर्नुपरेको हो ।
सरकार गठनका लागि औपचारिक स्वीकृति लिन मोदीले आफ्ना सहयोगी दलका नेतासहित शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट्ने अपेक्षा गरिएको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ ।
मोदीले तेस्रो कार्यकालका लागि इच्छा प्रकट गरेपछि यसलाई समर्थन गर्दै एनडिएले बुधबार सर्वसम्मतिले नेताको रूपमा चयन गरेको छ । गठबन्धनले संसदमा दुई सय ९३ सिट हासिल गरेको छ ।
मोदीको पार्टीले गठबन्धनका सदस्यको समर्थन प्राप्त गर्नका लागि के कस्ता सम्झौता गरिएको थियो भन्ने खुलासा गरेको छैन तर ठुला दलहरूले महत्त्वपूर्ण मन्त्री पद खोजिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इन्डियन एक्सप्रेसले शुक्रबार दक्षिणी राज्य आन्ध्र प्रदेशको तेलुगु देशम पार्टी (टिडिपी) १६ सिटसहित सबैभन्दा ठुलो भाजपाको सहयोगीले नयाँ विधायिकी राजधानी निर्माण गर्ने योजनाको पुनरुत्थानका लागि दबाब दिने रिपोर्ट गरेको छ ।
यसैबिच, भाजपाको दोस्रो ठुलो सहयोगी, बिहार राज्यको जनता दल (युनाइटेड) ले सैन्य खर्च कटौती गर्न सरकारले सन् २०२२ मा सुरु गरेको विवादास्पद सेना भर्ती योजनाको समीक्षा गर्न खोजिरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले आइतबार प्रधानमन्त्रीका रूपमा शपथ लिने सम्भावना छ । बङ्गलादेशकी राष्ट्रपति शेख हसिना र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घे र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राष्ट्रप्रमुखहरू उक्त समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ । (रासस/एएफपी)