काठमाडौँ । चिकित्सा शिक्षा सुधारका लागि पच्चिसौँ आमरण अनशननरत प्राडा गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई इलामबाट काठमाडौँ ल्याएर त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो ।
कात्तिक १२ गतेदेखि अनशन बसेका केसीको स्वास्थ्यमा लगातार जटिलता देखिनुका साथै श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई आइतबार रातिदेखि नै अक्सिजन दिएर उपचार सुरु गरिएको थियो ।
उनको स्वास्थ्य स्थिति जोखिमपूर्ण बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए ।
इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरका अनुसार सङ्घीय र प्रदेश स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनलाई काठमाडौँ पठाइको हो ।
सोमबार बिहानको विवरणअनुसार डा. केसीको रक्तचाप १००/६० र पल्स ९० देखि १०० रहेको छ ।
गेटामा पूर्वाधारविना एमबिबिएस तथा नर्सिङ कार्यक्रम सञ्चालन अनुमति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीको नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वमाथि निष्पक्ष छानबिन हुनुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने तथा यसअघि सरकारसँग भएका सहमतिहरू कार्यान्वयन हुनुपर्नेलगायतका छ बुँदे माग राख्दै उनी अनशनमा बसेका हुन् ।






