काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त भएका छन् ।
बिरामी भएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका सिरोहियालाई बुधबार साँझ हाजिरी जमानीमा छोडिएको हो ।
प्रहरीले अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर छोरा सम्भवको रोहवरमा रिहा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारका सदस्यलाई जिम्मा लगाउने गरी हाजिर जमानीमा छाड्ने निर्णय गरी ललितपुर प्रहरीमा पठाएको थियो।
उनलाई मंगलबार मात्र हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो।
प्रहरीले उनलाई नागरिकतासम्बन्धी कसुरको अनुसन्धान गर्ने भन्दै जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जी दिएर जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट नियन्त्रणमा लिएको थियो।
धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा बिरामी परेपछि उनी जेठ ११ गते जनकपुरकै स्थानीय अस्पतालमा अस्पतालमा भर्ना भएका थिए।