खलङ्गा । राष्ट्रिय जनमोर्चा प्युठानले जिल्लामा सार्वजनिक यातायातले चर्को भाडादर ल्याउने गरेको भन्दै सोको नियमन गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको छ।
राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा २०८१ जेठ १३ गते आइतबार सो ज्ञापन बुझाइएको हो ।
‘जिल्लामा लामो समयसम्म भाडादर कायम गर्ने विषयमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन’ अध्यक्ष न्यौपानेले भन्नुभयो– ‘आन्तरिक सडकमा भाडादर अत्यधिक हुँदा समुदाय मर्कामा परिरहेकाले जनताको दैनिकी आवाज लिएर जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छौँ ।’
उहाँका अनुसार छिमेकी जिल्ला रोल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा भन्दा प्युठानमा धेरै भाडा लिने गरिएको छ । कतिपय स्थानमा प्रतिकिलोमिटर २० रुपैयाँसम्मका दरले लिने गरेको भन्दै यो विषयमा तत्काल निकास दिन राजमोले आग्रह गरेको छ ।

‘यातायातका तमाम समस्या छन् । यात्रुप्रति गरिने व्यवहार, तोकिएको स्थानमा यातायात नपुग्ने र बहानाबाजीलगायतका समस्या समाधान गर्नुपर्दछ’ न्यौपानेले भन्नुभयो ।
पार्टीले यातायातका समस्याबारे पटक पटक ध्यानाकर्षण गराएको भए पनि समस्या समाधान हुन नसकेको भन्दै राजमोले यस विषयमा सम्बन्धित निकाय मौन भएमा पार्टीले आन्दोलन गर्न पछि नपर्ने दाबी गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्यालले यातायात सेवा सहज सरल गराउन पटक पटक छलफल भएको, भाडादर टास गर्न लगाएको, चालक/सहचालकलाई ड्रेसको व्यवस्था गर्नका लागि निर्देशन दिएको दाबी गर्नुभयो ।
