काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाक्रीले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताएकी छन् ।
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने जिकिर गरिन् ।
उनले मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने बताइन् ।
उनले भनिन्, ‘व्यवस्था ठिक छ अवस्था बदल्ने भन्ने छ । अवस्था बदल्न पुँजी चाहिन्छ । ठगेर खाएर पुँजी हुँदैन । अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदलिँदैन, झनै खराब हुन्छ । मिडियामा आएर उफ्रिएर अवस्था बदलिँदैन ।’
उनले शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने बताइन् । उनले व्यक्ति राज्यसँग लड्न नसक्ने भन्दै कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको बताइन् ।
नेत्री झाक्रीले समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न लिएको बुझन नसकिने बताइन् ।
उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगति गर्दै छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने अवसर अझै बाँकी रहेको बताइन् ।