काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ।
नागरिकता मुद्दामा मंगलबार काठमाडौंस्थित कान्तिपुरको मुख्यालयबाट पक्राउ परेका सिरोहियालाई हिजै जनकपुरधाम लगिएको थियो।
प्रहरीले उनलाई आज धनुषा जिल्ला अदालतमा पेश गरेको हो।
उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको प्रहरीले जनाएको छ।
सिरोहियालाई अदालतले अनुमति दिएमा प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु हुनेछ।
मंगलबार जिल्ला अदालत धनुषाले नै सिरोहियालाई पक्राउ गर्न अनुमति (पक्राउ पुर्जी) दिएको थियो।
सिरोहियाले लिएको नागरिकताको नम्बर उनी भन्दा पहिले अर्कै व्यक्तिको नाममा जारी भइसकेको देखिएको, उनले फरक फरक नागरिकता नम्बर प्रयोग गरेको र नागरिकतामा उल्लेख गरिएको जन्म मिति पनि शंकास्पद देखिएको प्रहरीको दाबी छ।
सिरोहियाले नागरिकता लिँदा बुझाएका कागजातको अभिलेख फेला नपरेको र नागरिकता लिने बेलामा उमेर पुगेकोमा पनि शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति माग गरेको थियो।
तर सिरोहियाले भने गृहमन्त्री रवि लामिछानेले आफूमाथि रिसिइबी साँधेर पक्राउ गरेको प्रतिक्रिया दिएका छन्।
मंगलबार गिरफ्तारीका क्रममा उनले गृहमन्त्री लामिछानेले सहकारीको विषयमा कान्तिपुरले लगातार समाचार प्रकाशन गरेपछि त्यसलाई ढाकछोप गर्न र दबाउन आफूलाई पक्राउ गरेको प्रतिक्रिया दिएका थिए। सिरोहियालाई पक्राउ गरेपछि चौतर्फी विरोध भइरहेको छ।