काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार (जेठ ७ गते) संसदबाट विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि विहान ११ बजे संसद बैठक बोलाइएको छ ।
तर, गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी प्रकरण छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको प्रतिपक्षी दल नेपाली कांग्रेसले भने भोलिको बैठकसमेत अवरोध गर्ने स्पष्ट पारेको छ ।
आज गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिएको कांग्रेसले भोली संसदीय दलको बैठक बोलाएको छ ।
गृहमन्त्री रवि लामिछानेले विभिन्न व्यक्तिहरूविरुद्ध लाञ्छना लगाएपछि कांग्रेस उनीसँग थप क्रुद्ध बनेको छ ।
आजै कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने स्पष्ट पारिसकेका छन् ।
कांग्रेसले सोमबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको छ भने त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।