गणेश अधिकारी, पोखरा ।
प्यालेस्टाइनमाथि इजरायली साम्राज्यवादी आक्रमणको विरुद्ध कास्कीको पोखरामा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जनमोर्चा कास्कीको आयोजनामा २०८१ जेठ ५ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई प्रमुख वक्ताको रूपमा राजमोका केन्द्रीय सदस्य शङ्कर बरालले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा सम्बोधन गर्दै उहाँले अमेरिकी साम्राज्यवाद र युरोपियन साम्राज्यवादको समर्थनमा इजरायली साम्राज्यवादले प्यालेस्टाइनमा नरसंहार मच्याइरहेको आरोप लगाउनुभयो ।
उहाँले राष्ट्रिय जनमोर्चा प्यालेस्टाइनी जनताको पक्षमा रहेको स्पष्ट पार्दै विश्वभरि साम्राज्यवादको विरोधका आवाज बढ्दै गएको दाबी पनि गर्नुभयो ।
त्यस्तै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कुलबहादुर थापाले भारतस्थित नेपालीहरू इजरायली साम्राज्यवादको विरुद्धमा तथा प्यालेस्टाइनी जनताको पक्षमा रहेको जानकारी दिनुभयो ।

उहाँले भारतस्थित नेपालीको तर्फबाट राजमोको उक्त कार्यक्रमप्रति ऐक्यबद्धता पनि व्यक्त गर्नुभयो ।
त्यस्तै, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसीले नेकपा (मसाल) संसारभरिका साम्राज्यवादको विरुद्धमा रहेको बताउनुभयो ।
उहाँले इजयरायली साम्राज्यवाद अमेरिकी साम्राज्यवादको कठपुतली भएको बताउँदै त्यसको विरुद्धमा नेपाली जनता पनि विरोध भएको बताउनुभयो ।

राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल महिला सङ्घ कास्कीकी सचिव लक्ष्मी कुँवर र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठामगरले पनि मन्तव्य राख्नुभएको थियो ।
