काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकजुट भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले छानबिन समिति बनाउनुपर्ने मागसहित तीन बुँदे साझा समझदारी बनाएको छ ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख नेताहरुसँग शुक्रबार (जेठ ४)मा संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो।
विपक्षी दलबीच बनेको समझदारी सभामुखलाई जानकारी गराएको नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिए।
संसदीय समिति छानवीन समिति नबनेसम्म संसदका कुनैपनि प्रक्रिया अघि बढ्न नदिने निर्णय भएको लोसपाका बरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए।
उनका अनुसार संसदलाई पेलेर चलाउन खोज्ने सभामुखको ध्यानाकर्षण गराउँदै संसदीय प्रक्रिया अपनाउन अनुरोध पनि गरिएको छ।
यता, विपक्षी दलहरूले राखेको संसदीय छानबिनको मागप्रति राष्ट्रिय जनमोर्चाले पनि समर्थन जनाएको छ ।
अध्यक्ष त्रिबहादुर केसीले युगदर्शनलाई प्रतिक्रिया दिँदै संसदीय समिति बन्नुपर्ने कुरा आफ्नो पार्टीलेसमेत उठाउँदै आएको बताउनुभयो ।
‘छानबिन समिति बन्नुपर्छ भन्ने हाम्रो पनि माग हो । विपक्षी दलहरूले गरेको निर्णयमा हाम्रो पनि समर्थनै छ’ केसीले भन्नुभयो, ‘छानबिन समिति बनाएर सहकारी ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याइनुपर्छ ।’