काठमाडौं । कतारबाट अवैध रुपले ल्याएको सुन धनीलाई नदिन लुटपाटमा परेको नाटक गरेका एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।
इलामको सूर्येदय नगरपालिका १४ घर भइ हाल झापाको विर्तामोड नगरपालिका–५ बस्ने सूर्य बहादुर समाल मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले सुनको ब्रासलेट थान १ (तौल ५० ग्राम), सुनको बेरुवा औँठी थान १ (तौल २० ग्राम), सामसङ कम्पनीको मोबाइल थान १ र आईफोन थान १ र लिनोभो ल्यापटप थान १ तथा बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यही जेठ २ गतेको दिन बिहान अन्दाजी ९ बजेको समयमा ललितपुरको गोदावरी–६ स्थित सडक किनारको नालीमा अपरिचित व्यक्ति घाइते अवस्थामा लडिरहेको भन्ने सूचना प्रहरीलाई प्राप्त गरेको थियो ।
सो सूचनाका आधारमा घटनास्थल जाँदा ती व्यक्तिलाई स्थानीय र प्रहरीले उद्धार गरी नमस्ते मेट्रो हस्पिटलमा उपचारका लागि लगिसकेका थिए ।
प्रहरीको अपराध अनुसन्धान कार्यालयले उनलाई प्राथमिक उपचारपछि सो कार्यालयमा ल्याई सोधपुछ गर्दा सूर्यबहादुर समालमगर जेठ १ गते विहान कतारबाट फर्किएका र साथमा राजश्व छली गरी सुन ल्याएको पत्ता लाग्यो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालबाट बाहिरिएका उनी सौर्य एयरलाइन्स मार्फत झापाको भद्रपुर पुगी भन्सार छली गरी साथमा ल्याएको सुन बिर्तामोड नगरपालिका–५ स्थित आफ्नै घर लुकाई/छिपाई राखे।
उनले सोही दिन बेलुका साढे ६ बजेको समयमा बुद्ध एयरको विमान मार्फत काठमाडौं फर्किए र पछिल्लो दिन जेठ २ गते बिहानको समयमा आफूले आफैंलाई शरीरमा चोटपटक लगाई आफ्नो हात खुट्टा समेत बाँधी गोदावरीको सडकबाटोको किनारमा रहेको नालीमा बसेको अनुसन्धानबाट खुल्न आएको छ।
ईलाका प्रहरी कार्यालय, अनारमणी बिर्तामोड झापाको समन्वयमा निजको घर कोठाको खानतलासी गरी निजले कतारबाट भन्सार छली ल्याएको सुन समेत बरामद गरी आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।