काठमाडौं । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएका छन् ।
मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालत, पाटनको यो निर्णय आएको हो।
उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले लामिछानेलाई सफाइ दिने फैसला सुनाएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुसमा सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी सजाय सुनाएको थियो।
जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए। उनलाई अदालतले थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो।
यस प्रकरणमा सन्दीप र गौशाला २६ (सांकेतिक नाम) बीच शारीरिक सम्बन्ध मञ्जुरीमा भएको थियो कि थिएन, पीडितको उमेर १८ वर्ष नाघेको थियो कि थिएन भन्ने मूल विवाद थियो।
जिल्ला अदालतले जन्म दर्ता प्रमाणपत्रलाई आधार मानी करणीका बखत पीडित १८ वर्ष पुगिसकेको मानेको छ। तर, सम्पन्न अनि प्रभावशाली व्यक्तित्व भएका सन्दीपले पीडितको विपन्नताको गलत फाइदा उठाएको तर्क गर्दै बलात्कार ठहर गरेको थियो।