काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ ।
दिउँसो ३ बजे बस्ने संयुक्त सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंगलबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा नीति तथा कार्यक्रमको रिहर्सल हुनेछ।
दिउँसो साढे १२ बजे प्रमुख देवराज घिमिरेले सबै दलका सचेतकहरूसँग छलफल गर्नेछन्।
त्यसैगरी दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ ।
दुबै सदनको संयुक्त बैठक सकिएपछि आजै साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।
प्रतिपक्षीको अडान कायमै
यता, संसद बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्न कांग्रेससँग आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग आज बिहान छलफल गरेका छन् । सरकारी निवास बालुवाटारमा महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत कांग्रेस नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले सदन अवरुद्ध नगर्न र नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन अनुरोध गरेका हुन्।
यस विषयमा अहिले बिहान बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने कांग्रेसका प्रमुख सचेतक लेखकले बताएका छन्।
‘प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा अवरोध नपुर्याउन र सदन चलाउन सहयोग गर्नुस भनेर भन्नुभयो, उहाँले सहकारी समस्या समाधानका लागि पहल गरिरहेको र गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ’, भेटवार्तापछि लेखकले भने, ‘उहाँले राखेको प्रस्तावबारे हामी दलको बैठकमा कुरा गर्नेछौँ र त्यहीँबाट निर्णय लिनेछौँ।’
आज बस्ने संसद् बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न अहिले बिहान ९ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै छ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ।
छानबिन समिति नबन्दासम्म संसद्मा जारी अवरोधलाई निरन्तरता दिने अडान लिएको कांग्रेसले यस विषयमा के कसरी प्रस्तुत हुने भनेर अहिले बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने तयारी गरेको छ।