काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका उमेश राज जोशी र भीमप्रसाद ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। आइतबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले दुवै एआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णय अनुसार उनीहरुलाई एआईजीमा बढुवा गरिएको थियो। बढुवा भएसँगै जोशीको प्रदेश समन्वय विभागमा र ढकालको मानव स्रोत विकास विभागमा पदस्थापन भएको छ।

अर्याल र गुरुङ डीआईजीमा बढुवा
यस्तै, नेपाल प्रहरीका दुई जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्।
प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याललाई आइतबार दज्र्यानी चिह्न प्रदान गरिएको हो।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याललाई बढुवा गर्ने निर्णय भएको थियो। उनीहरुलाई डीआईजीमा बढुवा गर्नकै लागि विशेष पद सिर्जना गरिएको हो।
गुरुङ र अर्याल अवकास भएसँगै यी दरबन्दी स्वतः हट्नेछन्। देउती गुरुङ केनाइन (कुकुर) स्कुलमा कार्यरत छन् भने अर्याल साइबर ब्यूरोमा कार्यरत छन्।
