काठमाडौं । वैदेशिक रोजगारमा पठाउने भन्दै नक्कली कन्सल्टेन्सी सञ्चालन गरेर ४२२ जनासँग रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको धुनवेसीका ३१ वर्षीय जिवा गौतम भन्ने रमेश बयालकोटी र कालिकोटको छाप्रेका २७ वर्षीय दर्शन नेपाली रहेका छन् ।
उनीहरुले विभिन्न देशमा रोजगारीका लागि पठाउने भन्दै ४२२ जनालाई ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रोजगारको लागि बुल्गेरिया, न्युजिल्याड, रोमानिया, सर्विया, क्रोएसिया लगायतका दे्शमा पठाउने भन्दै ठगीएका पीडित प्रहरीको सम्पर्कमा पुगेका छन्।
उनीहरुले आफ्नो नक्कली नाम बताउने र अर्कै व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाएको खुलेको छ।
रमेश बयालकोटीले काठमाडौंको किर्तिपुर नगरपालिका ६ बस्ने ललित जंग बमलाई भिसा प्लस प्रालि नामको कन्सलटेन्सी दर्ता गर्न लगाएका थिए। सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको लागी रोमनिया, न्युजिल्याण्ड, बुल्गेरीया, मकाउ, टर्की, सर्बिया, क्रोएसिया लगायतका देशमा जाने अवसर रहेको भनी विज्ञापन गरेको प्रहरीले जनाएको छ।

पछि कन्सलटेन्सीमा नै बोलाई ४२२ जनालाई प्रतिब्यक्ति १० लाख देखि १४ लाख लाग्ने बताउने गरेको अनुसन्धानमा खुलेको छ । यसरी उनीहरुले तीन करोड जति रकम संकलन गरेको देखिन्छ ।
सुरुमा ५० हजारदेखि ३ लाख रुपैयाँसम्म लिने र भिषा आएपछि अरु रकम दिनु पर्ने शर्त राखेका थिए।
रकम संकलन गर्नका लागि कर्मचारी खटाउने गरेका थिए। कन्सलटेन्सी संचालन गर्दा ललिजन बमले आफू ठगीएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेपछि ठगीको रहस्य पटाछेप भएको हो।
कन्सल्टेन्सी सञ्चालक आफैंले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो।
उनको जाहेरीकै आधारमा प्रहरीले रमेश बयालकोटीलाई महाराजगञ्जबाट र अर्का संचालक दर्शन नेपालीलाई कागेश्वरी नगरपालिकाबाट पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले ८४ थान राहदानी पनि बरामद गरेको एसएसपी भट्टराईले बताए। उनीहरुको कोठाबाट १८२ जनाको रेकर्ड पनि फेला परेको प्रहरीले जनाएको छ।
उनीहरुले विदेश जानेका लागि देश अनुसार लागत निर्धारण गरेका थिए। न्यजिल्याण्डका लागि १६ लाख, बुल्गेरियाका लागि ७ लाख, रोमानियाका लागि ७७ लाख र क्रोयसियाका लागि १२ लाख रुपैयाँ तोकेको प्रहरीले जानकारी दिएको छ।
थप कारबाहीका लागी जिल्ला प्रहरी परिसर टेकु पठाएको छ।