काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा. इन्द्रजित राई र सानु भण्डारीलाई पनि थुनामै पठाउने आदेश दिएको हो ।
अदालतले पूर्वसांसद आङटावा शेर्पा र बिचौलिया गोविन्द चौधरीलाई धरौटीमा छाड्न आदेश दिएको छ।
सर्वोच्चले ७ जनालाई थुनामै पठाउने उच्चको आदेश सदर गरे पनि यी दुई जनालाई भने धरौटीमा छाड्न आदेश दिएको हो।
शेर्पालाई ३० लाख रुपैयाँ र चौधरीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको हो।
चौधरीले बयानमा इन्कार गरेको, कसुरजन्य कार्य गरी रकम उठाएको वा लिएको भन्ने मिसिल संलग्न प्रमाणबाट नदेखिएको, जाहेरवाला सुमन दाहालले लुम्बिनी बैंकमा जम्मा गरेको भनेको २४ लाख ७७ हजार रुपैयाँ पनि के बापत जम्मा गरेको भन्ने स्पष्ट नदेखिएको सर्वोच्च अदालतको ठहर छ।
यस्तै चौधरीले श्रीमतीको नाममा भएको जग्गा सुमन दाहालको नाममा पास गरिदिएको देखिएकाले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन पर्ने कारण नदेखिएको सर्वोच्चले आदेशमा भनेको छ।